फिचर न्यूज राजनीति

बृहत्तर लुम्बिनी गुरुयोजना थालनी गर्न सरकार तत्पर: प्रधानमन्त्री दाहाल

२५६७ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस आज धूमधामका साथ मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतम बुद्धको जन्म जयन्तीका रूपमा मनाउने गरिन्छ ।

बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा लुम्बिनीमा विशेष समारोहको आयोजना गरिएको छ । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले बुद्ध जन्मस्थल लुम्बिनीको सम्भावना असीमित रहेको बताए । उनले सरकार बृहत्तर लुम्बिनी गुरुयोजना थालनी गर्न तत्पर रहेको दाबी गरे । तिलौराकोट पनि विश्व सम्पदा सूचीमा सुचीकृत हुने क्रममा रहेको प्रधानमन्त्रीको जिकिर छ ।

बुद्ध जयन्ती मूल समारोह सुरु हुनु अघि लुम्बिनीको ५ नम्बर गेटदेखि अन्तर्राष्ट्रिय सभा हलसम्म झाँकीसहितको शोभा यात्रा निकालिएको थियाे । इसा पूर्व ६ सय २३ वैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देहीको लुम्बिनीमा गौतम बुद्धको जन्म भएको थियो । वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्धले बुद्धगयास्थित बोधिवृक्ष मुनि बुद्धत्व प्राप्त गरेका थिए । वैशाख शुक्ल पूर्णिमाकै दिन उनको महापरिनिर्वाण (मृत्यु) भएको थियो । त्यसै वर्षदेखि विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने प्रचलन छ।